मेलम्चीको पानी सबैका घरघरमा पुग्न अझै महिनौं लाग्ने

काठमाण्डु टुडे २०७७ चैत १७ गते ९:१८ मा प्रकाशित

काठमाण्डु, १७ चैत–उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ ।

लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन् । पानी वितरण भने काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट भइरहेको छ ।

केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ । अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन् ।

सोमबार बबरमहलदेखि उत्तर र पुरातत्त्व विभागको दक्षिणतर्फको धोबीखोलासम्म २ सय घरमा चौबीसै घण्टा आउने गरी पानी छाडिएको थियो । पानी आएपछि उत्साहित स्थानीय कतै पाइप लिकेज देखिए तिनको मर्मतसम्भारमा जुटेको उनको भनाइ छ । अहिले २ सय २० किमि क्षेत्रको पाइपमा परीक्षणको काम भएको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us