एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम

रासस २०७७ चैत ५ गते ११:२० मा प्रकाशित

काठमाण्ड, ५ चैत– पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ।

गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो।

मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ।

मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थाअनुसार गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो।

आयोगका अनुसार स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us