काठमाण्डु, १ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
नेता नेपाल र झलनाथ खनाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले पुष्टि गरेको छ । एमाले–माओवादी एकता खारेज गर्दै सर्वोच्च अदालतले दुर्व पार्टीलाई पूर्ववत कायम गरेपछि गत साता सल्लाहमै नेपाल–खनालपक्षले एमालेमै रहने निर्णय गरेको थियो । त्यसयता तीन नेताबीच भएको यो पहिलो भेट हो ।
भेटमा प्रधानमन्त्री केपी ओलीलाई कसरी सत्ताच्युत गर्ने भन्ने विषयमा कुराकानी भएको श्रोतको दाबी छ । एमालेमै रहने निर्णय गरे पनि आफ्नो समूहका नेताको जिम्मेवारी खोस्ने ओली समूहको कदमपछि नेपाल–खनाल पक्ष आक्रोशित छ ।
सो पक्षका केन्द्रीय सदस्यहरुको बैठकले शनिबार देशभर समानान्तर एमाले घोषणा गरेको थियो । यस्तै नेपाल–खनाल समूहले आगामी चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ ।
माओवादी केन्द्र भने प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि पदबाट हटाउने रणनीतिमा छ । त्यसका लागि प्रचण्डसहित नेताले काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता सहकार्यका लागि निरन्तर छलफल गर्दै आएका छन् ।