बम विष्फोटबाट घाइते हुनेको संख्या ८ पुग्यो

काठमाण्डु टुडे २०७७ चैत १ गते १६:१२ मा प्रकाशित

सिराहा, १ चैत– सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको विष्फोटमा परेर घाइते हुनेको संख्या ८ पुगेको छ । आज दिउँसो करिब १ बजेतिर बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ ।

आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उनका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us