नारायणहिटीको सिनेमा हल खुला गर्ने तयारी

काठमाण्डु टुडे २०७७ चैत १ गते १२:४० मा प्रकाशित

काठमाण्डु, १ चैत– नारायणहिटी दरबारमा २० वर्षपछि सिनेमा हल खुल्ने भएको छ । दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताले केही समयपछि तत्कालीन राजपरिवारले हेरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भइएको छ ।

नारायणहिटी दरबारको मूल भवनमा दसैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि थियो । दरबार अवलोकर्ताहरुको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले तयारी गर्दै छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा हलका बारेमा धेरैले जिज्ञाशा राख्ने गरेको सुनाउँदै भने, “अब छिटै सिनेमा हलका कुर्सीमा बसेर तत्कालीन राजारानीले हेरेका सिनेमा हेर्न पाइनेछ ।”

झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेका छन् । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका महिला कर्मचारीहरुले मट्टितेलले सफा गरिरहेका छन् भने नेपाल चलचित्र संस्थानबाट अवकास पाइसक्नुभएका प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त छन् । उहाँले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताउँदै भने, “धेरै जसो रिललाई यही सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्दछ ।”

दरबारको सिनेमा हलमा दुई वटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आगामी वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताए, “अवलोकनकर्ताहरुलाई समय तोकेर पालैपालो सिनेमा देखाइनेछ ।”

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदारहरुले प्रायः शुक्रबार सिनेमा हेर्ने गर्थे । विदेशी सिनेमाहरु उपत्यकाका सिनेमा हलबाट रिल राजपरिवारलाई देखाइन्थ्यो । सिनेमामा १ सय १६ वटा सिट छन् । पाँच वटा सोफा राखिएका छन् । ती सोफालाई कपडाले छोपेर राखिएको छ । प्रायः राती सिनेमा हेर्ने चलन हुन्थ्यो भनेर तत्कालीन दरबारका कर्मचारीहरु सुनाउँछन् । तत्कालीन मुमा बडामहारानी रत्न र रानी ऐश्वर्यले सिनेमा हेर्न बढी रुचाउने गरेको उनीहरु अझै स्मरण गर्छन् ।

राजारानी बस्ने सोफाको पछाडि राखिएका चुरोट दानीमा अहिले पनि चुरोटका केही ठुटा र दाँत कोट्याउने सिन्का त्यत्तिकै छन् । सङ्ग्रहालयका कर्मचारीहरुले ती ठुटा र सिन्का दरबार हत्याकाण्डअघि अन्तिमपटक सिनेमा हेरिएको दिनको भएको दावी गर्छन् ।
यसैबीच सङ्ग्रहालयले फोहोरा बगैँचा र हाँस पोखरीमा पानी आउने व्यवस्था गरेको छ । दरबारको मूल भवनमा रहेका करिव २० वटा कक्ष अझै बन्द छन् ।

पुस्तकालय, राजाको अध्ययन कक्ष लगायत प्रदर्शनमा छिटै राखिने बताउँदै उनले भने, “२०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्यारोहणमा प्रयोग गरिएको बग्गीलाई आगामी वैशाख १ गतेबाट प्रदर्शनीमा राख्ने भएका छौँ । अहिले त्यो बग्गी नेपाली सेनासँग छ । सेनाले हामीलाई हस्तान्तरण गर्ने निर्णय भइसकेको छ ।”

उनले तत्कालीन राजा त्रिभुवनको कपाल काट्ने कक्ष (सैलुन) पनि छिटै खुला गर्न लागिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us