संसदको सातौं अधिवेशन आज

काठमाण्डु टुडे २०७७ फागुन २३ गते ८:२५ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– प्रतिनिधिसभाको हिउँदे (सातौं) अधिवेशन आजदेखि सुरु हुँदैछ ।

पुर्नस्थापित प्रतिनिधिसभाको बैठक अपराह्न ४ः०० बजे बोलाइएको छ । विधेयक अधिवेशन पनि भनिने संसदको यो अधिवेशनमा सरकारका तर्फबाट यसअघि प्रस्तुत भएका तथा नयाँ विधेयकबारे छलफल हुनेछ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको थियो ।

पक्षका कानून व्यवसायीहरुको मागअनुसार सर्वोच्चले १३ दिनभित्र संसद बैठक राख्न सरकरका नाममा परमादेश जारी गरेपछि सरकार बैठक बोलाउन बाध्य भएको हो । बैठकमा पूर्व र वर्तमान संसदका दिवंगत १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले थप एजेण्डा तय गर्नसक्ने संसदका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

संसदमा नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । आफैंले विघटन गरेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका रुपमा उपस्थित हुन नैकिताका आधारमा नमिल्ने भन्दै उक्त समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको छ ।

ओली भने नेकपा विभाजित नभएको र ६४ प्रतिशत सांसदको समर्थन खण्डित नभएको जिकिर गदै राजीनामा नदिने अडानमा छन् । अविश्वास प्रस्ताव आए सामना गरेर अघि बढ्ने ओली समूहको तयारी छ । यसअघि शनिबार बसेको ओली समूहको संसदीय दल बैठकमा ओलीले सम्भावित सबै परिस्थितिका लागि तयार रहन सांसदहरुलाई निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us