मन्त्रीले जथाभावी बोलेपछि…

काठमाण्डु टुडे २०७७ फागुन २० गते १७:१९ मा प्रकाशित

काठमाण्डु, २० फागुन– नेपाल वन प्राविधिक संघले वन तथा वातावरणमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई वनका ‘केही बदमास कर्मचारी’ र काठ व्यवसायीले एक अर्ब रुपैयाँ घूस दिन खोजेको दाबी गरेका थिए ।

आलेको उक्त अभिव्यक्तिप्रति संघले आपत्ति जनाउँदै घूस दिन खोज्नेको नाम सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष मुकुन्द श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्यठद्वारा बिहीबार जारी विज्ञप्तिमा मन्त्री पदमा बसेर घूस दिनेमाथि कारबाही गर्नुको साटो प्रचारबाजी गरेकाले आशंका उत्पन्न भएको उल्लेख छ ।

‘भ्रष्टाचार नियन्त्रणमा मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिको झन् ठूलो जिम्मेवारी हुन्छ । माननीय मन्त्रीज्यूले सञ्चार माध्यममा बोल्नु अगाडि घूस खुवाउन आउने व्यक्तिलाई कारबाही गर्न सम्बन्धित सरकारी निकायमा सूचना दिनु अति आवश्यक थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रष्टाचारजन्य संवेदनशील विषयलाई फगत राजनीतिक लोकप्रियताको विषय बनाइँनु हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us