सर्वोच्चका न्यायाधीशलाई औंला ठडाउँदै ईश्वरले भनेः तिमीहरुले देशलाई दुर्भाग्यतिर धकेल्यौ

काठमाण्डु टुडे २०७७ फागुन १५ गते ०:०७ मा प्रकाशित

काठमाण्डु, १४ फागुन– नेकपा ओली समूहका नेता एवं बिनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेर गल्ती गरेको आरोप लगाएका छन् ।

उनले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै फैसलाले मुलुकलाई अस्थिरतातर्फ धकेलेको टिप्पणी गरे । यद्यपि लोकतन्त्र र शक्ति पृथकीकरणका आधारमा न्यायालयको फैसला स्वीकार गरिएको उनको भनाइ थियो ।

पोखरेलले सर्वोच्चका न्यायाधीशभन्दा शक्तिशाली जनता भएको तर्क गरे । ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन्, जनता हुन’, ओली समूहनिकट विद्यार्थी संगठनको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पोखरेलले भने, ‘सर्वोच्चको फैसलाले मुलुकलाई अस्थिरतामा धकेलेको छ ।’

उनले अदालतको फैसलाबारे बोल्नै नहुने भन्ने कुरा मान्न तयार नरहेको बताए । ‘तिमिभन्दा ठूला न्यायाधीश जनता हुन’, उनले भने, तिम्रो फैसलाले यो मुलुकलाई दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’ पोखरेलले सर्वोच्चले अराजकतालाई बढावा दिने र घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us