
काठमाण्डु, १२ फागुन–बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा संलग्न दुई प्रहरीको बढुवा भएको छ ।
यस्तै घटनास्थलमै पुगेर ९ दिनसम्म अनुसन्धान गरेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीसहित पाँच जना नगद पुरस्कारसहित सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई० र बर्दियाको राजापुरस्थित इलाका प्रहरी कार्यालयमा दरबन्दी भएका जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नती भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह पदोन्नति गरिएको उल्लेख छ । उनीहरुले भागरथीसहित अन्य आपराधिक घटनाका दोषी पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधान कार्यालयले जनाएको छ ।
यस्तै घटनाको गाम्भीर्यता बुझेर आफैं घटनास्थलमा उपस्थित भई सफल अनुसन्धान गर्ने कामको नेतृत्व गरेको भन्दै डिआईजी सुवेदीलाई नगद पुरस्कार दिइएको जनाइएको छ । पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुलामा कार्यरत प्रहरी जवान अशोकबहादुर कुँवर छन् ।