

बागलुङ, १० फागुन– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमसीसी पारित गर्न र नेपाललाई हिन्दू राज्य घोषणा गर्न संसद विघटन गरिएको बताएका छन् ।
प्रगतिशील पत्रकार संघले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले केपी ओलीबाट गणतन्त्र, संविधान र धर्मनिरपेक्षाताजस्ता उपलब्धी खतरामा परेको बताए । नेपाली जनताले ६ दशकभन्दा बढी समय लडेर ल्याएको संविधान ओलीले च्यातेको टिप्पणी सिंहले गरे ।
‘यो संविधान ल्याउन नेपाली जनताले ६ दशकसम्म लडाईं लड्नुपरेको छ’, सिंहले भने ,‘एमसीसी पारित गर्न र धर्मनिरपेक्षता उल्ट्याउन प्रतिनिधिसभा विकटन गरियो ।’
सिंहले नेकपाको आन्तरिक झगडाका कारण सिंगो देश नै संकटमा परेको उल्लेख गरे । मुलुकमा अस्थिरता उत्पन्न हुँदा बाह्य शक्तिले टाउको उठाउने मौका पाउने भन्दै सिंहले त्यसमा सबै चनाखो हुनुुपर्नेमा जोड दिए ।