प्रधानमन्त्री ओली एकाएक पशुपतिमा संकल्प पूजा गर्न किन गए ?

काठमाण्डु टुडे २०७७ माघ १३ गते ८:११ मा प्रकाशित

काठमाण्डु, १३ माघ– दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए ।

भगवान्‌को साटो देश र जनताका नाममा शपथ खाएका उनै प्रधानमन्त्री ओली सोमबार सबेरै धर्मपत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथ मन्दिर गए, ईश्वरका नाममा सवा लाख दीप प्रज्वलन गरे र ‘विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प पूजा’ गरे । उनले पशुपति क्षेत्रभित्र झन्डै एक घण्टा बिताएका थिए ।

ईश्वरका नाममा शपथसमेत नलिने साम्यवादी धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए होलान् ? अर्कातर्फ, उनै प्रधानमन्त्री ओलीले आफ्नो पूर्वमान्यताविपरीत शनिबार मात्रै माओवादी ‘जनयुद्ध’ का लडाकुहरूलाई भेटेर वर्गीय विभेद अन्त्यका लागि एकजुट हुनुपर्ने बताएका थिए ।

 छिमेकी भारतमा एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र पूजाआजा गर्ने चलन अरू बढाएका छन् । के त्यसैको सिको यता हुन थालेको हो ?

‘राजनीतिज्ञका रूपमा हेर्दा हिन्दु धर्मावलम्बीहरूको ठूलो समूह छ, त्यसलाई भौतिक उपस्थितिले सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई लागेको हुन सक्छ,’ गौतमले भने, ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्री पशुपति गएर संकल्प पूजा गरेको यो एउटा अनौठो घटना हो र यो सेन्सेटिभ कुरा पनि हो । यो घटनाबाट एक खालका मान्छेहरू खुसी भएका छन् ।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल यी दुवै कुरामा त्यति धेरै अर्थ खोज्न नहुने बताउँछन् । ‘पशुपतिमा पुगेर प्रधानमन्त्रीज्यूले त्यहाँको निर्माणबारे जानकारी लिनुभएको हो,’ रिमालले भने । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us