एसडी मुनिको खुलासाः नेपालको राजनीतिमा भारतले असंवैधानिक खेल खेल्यो, चुनावको पक्षमा उभियो

काठमाण्डु टुडे २०७७ पुष २५ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २५ पुस– भारतीय वुद्धिजिवी एसडी मुनिले भारत नेपालमा निर्वाचनको पक्षमा रहेको दाबी गरेका छन् ।

उनले भारत नेपालमा ताजा जनादेशको पक्षमा उभिएको बताए । मुनिले नेपालमा उनले राजनीतिक दल र राजावादीबीच सहकार्यको पक्षमा भारत रहेको पनि जिकिर गरेका छन् । तर, राजावादीसँग मिल्न लागेको नेपालको कुन दल हो भनेर स्पष्ट गरेका छैनन् ।

‘भारतले नेपालमा राजनीतिक दल र राजाबीच नयाँ राजनीतिक समीकरण बनाउने प्रयास गरेको छ’, भारतीय पत्रिका द हिन्दूस्तान टाइम्समा प्रकाशित आलेखमा मुनिले भनेका छन्, ‘भारत नेपालमा ताजा जनादेशको पक्षमा छ ।’ यद्यपि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको झण्डै एक महिना बित्दासम्म भारतीय पक्षबाट औपचारिक धारणा आएको छैन ।

मुनिले चीनले नेपाल कँम्युनिष्ट पार्टी (नेकपा) को दुई समूह मिलाउन चीन सक्रिय रहे पनि असफल भएको जिकिरसमेत गरे । उनले भारतले नेपालमा हिन्दूवादी आन्दोलन चर्काउन मलजल गरिरहेको समेत खुलासा गरेका छन् । यद्यपि त्यस्तको कदम भारत स्वयंका लागि प्रत्युत्पादक हुने मुनिको स्पष्टोक्ति छ ।

पछिल्लो भारतीय संस्थापनको भूमिकाले नेपालमा भारतलाई असंवैधानिक, अलोकतान्त्रिक र अवसरवादी खेलाडी साबित गर्ने उल्लेख गरेका छन् । नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रममा भारतले यसअघिजस्तो सतहमै नदेखिएर भित्री खेल खेलेको र त्यसमा सफल भएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us