
kp oliकाठमाण्डु, ३ पुस– प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै परिषद्को बैठक राखे त्यसले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएपछि उनले अन्तिम समयमा बैठक स्थगित गरेका छन् ।
बुधबारको सहमतिअनुसार अध्यादेश फिर्ताका लागि बोलाइएको भनिएको बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेशबारे उच्चारण नै नगरेपछि पार्टीका नेताहरू सशंकित बनेका छन्। मन्त्रिपरिषद्का सदस्यहरू प्रधानमन्त्रीको पछिल्लो क्रियाकलपाबाट आजित देखिएका छन् ।
पार्टीभित्र भएको सहमति कार्यान्वयन गर्न अटेर गरेर प्रधानमन्त्री एक्लै हिँड्न खोजेको टिप्पणी नेकपाका एक नेताले गरे । उनले भने, ‘हाम्रो तर्फबाट पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई जोगाउन इमानदार प्रयास भएको छ । हिजो (बुधबार) सहमति गर्न भूमिका खेल्ने प्रधानमन्त्रीतिरका साथीहरूले अब के गर्नुहुन्छ, हेरौं । नभए पार्टी स्थायी कमिटीको बैठकले विधि र प्रक्रियाअनुसार बाटो समाउँछ ।’ मन्त्रिपरिषद् बैठक नियमित अजेन्डाबारे मात्रै छलफल भएर टुंगिएको थियो । बेलुकी साढे ६ बजे शुरु भएको बैठक आधा घण्टामै सकिएको एक मन्त्रीले जानकारी दिए । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो ।
संसद्को विशेष अधिवेशनका लागि निवेदन लिएर राष्ट्रपति कार्यालय गएका नेकपा स्थायी कमिटी सदस्यद्वय भीम रावल र पम्फा भुसाल सोही सहमतिपछि निवेदन दर्ता नगरी फर्केका थिए । नागरिक दैनिकमबाट