ओली र प्रचण्डबीच कुरा मिल्यो, स्थायी समिति बैठक बजेटपछि

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते २२:०४ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तत्कालका लागि मिलेर अघि बढ्ने सहमति भएको छ ।

स्रोतका अनुसार दुई नेताको सहमतिमा वरिष्ठ नेता माधव नेपाल पनि सहमत छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेका बेला ओली बीचैमा उठेर हिंडेपछि नेकपा विवाद थप चर्कने आशंका गरिएको थियो । तर, ओली रिसाएर नभई सहमतिमै आराम गर्न गएको दाबी खुमलटार स्रोतको छ । ओलीले सुरुमै आफू बैठक थालनी गरेर आराम गर्न जाने नेताहरुलाई बताएका थिए ।

‘म बैठक सुरु गर्छु अनि आराम गर्छु भन्नुभएको थियो’, नेकपाका एक सचिवालय सदस्यले काठमाण्डुटुडेसँग भने, ‘विवाद भएको होइन, अरु नेताहरुबीच दूरी घट्दै गएको छ ।

ती नेताका अनुसार ओली–प्रचण्डबीच सचिवालय बैठकपछि सौहाद्र वातावरणमा छलफल भएको थियो । दुई अध्यक्षबीच भोलि (बिहीबार) बस्ने तय भएको स्थायी समिति बैठक केही दिन पर सार्ने सहमति भएको छ । यद्यपि मिति तोकिएको छैन । विश्वस्त स्रोतका अनुसार अब नेकपा स्थायी समिति बैठक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि मात्र बस्नेछ ।

‘केही दिनपछि औपचारिक रुपमा बैठक सुरु गर्ने र बजेट पारित भएपछि वृहत छलफल गर्ने गरी बैठक हुन्छ’, श्रोतले भन्यो । सरकारले पार्टी नेताहरुसँग परामर्श नगरी अध्यादेशमार्फत राजनीति दल विभाजन र संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

तर, गत शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गल्ती स्वीकार गर्दै गत मंसिरमा भएको निर्णय पालना गर्ने प्रतिबद्धता जनाएपछि विवाद केही साम्य भएको छ ।
२० स्थायी समिति सदस्यले लिखित रुपमा स्थायी समिति बैठक बोलाउन दबाब दिएका थिए । नेकपा विधानमा एक तिहाई सदस्यले माग गरेपछि स्थायी समिति बैठक बोलाउनैपर्ने बाध्यकारी प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us