नेपालगञ्जमा भोलिदेखि तीन दिनसम्म कर्फ्यू घोषणा

काठमाण्डु टुडे २०७७ वैशाख २२ गते २०:३० मा प्रकाशित

नेपालगञ्ज, २२ वैशाख– जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज क्षेत्रमा भोलि (मंगलबार) देखि २५ वैशाखसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
दुई दिनमा १६ जनामा कोभिड–१९संक्रमण पुष्टि भएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।

नेपालमा कोरोना नियन्त्रणका लागि कफ्र्यु लगाउने बाँके पहिलो जिल्ला प्रशासन हो । यसअघि सोमबारै जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले निषेधित क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भोलि बिहान ११ बजेदेखि २५ गतेसम्म कर्फ्यू लगाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार कर्फ्यू अवधिमा औषधि पसलबाहेक सबै पसल र व्यवसाय बन्द हुनेछन् । प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबारै बाँके पुगेर कम्तिमा तीन दिन कर्फ्यू लगाउन प्रजिअ खड्कालाई निर्देशन दिएका थिए ।

नेपालगञ्जस्थित अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा गत १९ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गर्दा आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us