कोरोना त्रासका कारण दाङ कारागारमा सतर्कता

रासस २०७७ वैशाख २१ गते १८:३० मा प्रकाशित

दाङ, २१ वैशाख– कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै  कारागारमा उच्च सर्तकता अपनाइएको छ ।

तुलसीपुर र घोराही कारागारमा उच्च सतर्कता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् । कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको  भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताए । उनका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई  स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ ।

उनले कैदीबन्दीलाई सेनिटाइजर र  मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिए ।जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र  एक महिला गरी चार बन्दी (थनुवा) र एक आश्रित (बालक) थपिएका छन् । यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९  पुरुष ३३  महिला र चार आश्रित बालबालिका  छन् ।

घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताए । कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको  हो ।

‘शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गछौं’, जेलर पाण्डेले भने । उनका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँंग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ । घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँंगै हाल सो कारागारमा २७६  कैदीबन्दी छन् । कारागारको क्षमता भने सत्तरी जना मात्र छ ।

दाङका नाकामा कडाइ  
छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ ।  बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका   अमिलिया, भालुबाङ, शिवखोलाातिर  कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । उनका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ  । एम्बुलेन्समा बिरामीसँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us