

काठमाण्डु, १८ वैशाख– सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणको उजुरी परेको छ ।
आफूलाई महोत्तरीबाट अपहरण गरेर कामाण्डु ल्याएको आरोपमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्रकुमार यादवले उनीहरुविरुद्ध बिहीबार आयोगमा उजुरी दिएका हुन् ।
डा. यादवसहित जनता समाजवादीका नेताहरु यसअघि उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाण्डु र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा उजुरी दर्ता गराउन खोजेका थिए ।
तर, ती दुवै निकायले अपहरण मुद्दा दर्ता गर्न अस्वीकार गरेका थिए । उजुरीमा डा. यादवले आफ्नो जीवन रक्षा गर्न र अपहरणकारीविरुद्ध कारबाहीको माग गरेका छन् ।
तत्कालीन समाजवादी पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा डा. यादवको अपहरण भएको आरोप जनता समाजवादी पार्टीका नेताहरुले लगाउँदै आएका छन् ।