प्रधानमन्त्री ओलीलाई गाली गरेको आरोपमा पक्राउ पूर्वसचिव उपाध्याय रिहा

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते १५:५० मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– जिल्ला अदालत काठमाण्डुले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको छ ।

न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो । उपाध्यायविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले आइतबार पाँच वर्ष जेल सजायको माग गर्दै साइबर क्राइम मुद्दा दर्ता गरेको थियो ।

उपाध्यायलाई प्रहरीले गत ५ वैशाखको राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो । उनीविरुद्ध प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा अनर्गल प्रचार गरेको आरोप थियो ।

यस्तै उनले नेपालमा मुस्लिम समुदायले कोभिड–१९ भाइरस संक्रमण फैलाएको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us