कोरोनाबारे गुनासो सुन्न हटलाइन

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, बन्दाबन्दीले जोखिममा परेका समुदायको समस्या एवम् गुनासो सुनेर यथासम्भव तत्काल सम्बोधन गर्न टोली बनाइएको महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

महानगपालिकाले कोरोना सङ्क्रमण फैलिन नदिन पोखरा ९ शान्तिवनस्थित कृषि उपज बजार केन्द्रमा सेनिटाइज टनेल स्थापना गरेको छ । पोखराकै ठूलो तरकारी तथा फलफूल बजारका रुपमा रहेको केन्द्रमा सर्वसाधारणको चापलाई दृष्टिगत गर्दै टनेल स्थापना गरिएको हो ।

टनेल स्थापनाको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा आवश्यकतानुसार सेवाग्राहीको चाप हुने स्थानमा यस किसिमका टनेल स्थापना गरिने बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us