विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ ।

आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले यसअघि घोषणा गरिसकेको छ ।

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ । यही अप्रिल २२ मा सार्वजनिक गरिएको प्रक्षेपणमा अन्तर्राष्ट्रिय रूपमै हवाई यात्रुको संख्यामा अघिल्लो वर्षको तुलनामा उक्त संख्यामा कम हुने उल्लेख छ ।

हवाई यात्रुको संख्या अन्तर्रा्ष्ट्रिय उड्डयन क्षेत्रको क्षमताभन्दा एकतिहाइले घट्ने प्रक्षेपण गरिएको छ । यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आयमा पनि १ खर्ब ६० अर्बदेखि २ खर्ब ५३ अर्ब डलरसम्म कमी आउने जनाइएको छ ।

उड्डयन क्षेत्रले अन्तर्रा्ष्ट्रिय स्तरमा जोड्ने काम मात्रै नगरी रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिमा असर गर्ने हुन्छ । हरेक वर्ष ३ करोड ८० लाख व्यावसायिक उडानबाट ४८ हजार ५ सय रुटको प्रयोग गरी ४ अर्ब ३० करोड यात्रुले हवाई उडान गरेको एभिएसन बेनिफिट्स रिपोर्ट २०१९ ले जनाएको छ। यसबाट ६ करोड ५५ लाख जनाले रोजगारी पाएका थिए । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us