अब अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी फर्कनु पर्दैन

काठमाण्डु टुडे २०७६ चैत २७ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २७ चैत– अष्ट्रेलियाले आफ्नो मुलुकमा उच्च शिक्षा अध्ययनका लागि आएका विदेशी विद्यार्थी आफ्नै समुदायको सदस्य भएको भन्दै ढाडस दिएको छ ।
प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ का कारण आफ्नै जनताको व्यवस्थापन गर्न समस्या परेको भन्दै नेपाली विद्यार्थीलाई देश फर्कन भनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिका कारण अन्योल र तनाबमा परेका नेपालीसहित विदेशी विद्यार्थीलाई त्यहाँका शिक्षामन्त्री डन तेहानको पछिल्लो भनाइले भने राहत दिएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री तेहानले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि राहत कार्यक्रम घोषणा गरिएको बताएका छन् । उनले विज्ञप्तिमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी आफ्नै समुदायको सदस्य, साथी र सहयात्री भएको उल्लेख गरे ।

सरकारले एक वर्षभन्दा बढी अष्ट्रेलियामा रहिसेकका विदेशी विद्यार्थीलाई ‘सुपर एन्यूएशन’ प्रयोग गर्न पाउने घोषणा गरेको हो । यो विद्यार्थीले अवकाशपछि पाउने रकमका लागि आन्दानीबाट कटौती गरेर रकम जम्मा गर्ने कोष हो ।

शिक्षामन्त्री तेहानले विदेशी विद्यार्थीका लागि काम गर्ने समयसमेत बढाइएको बताए । यसअघि त्यहाँ विदेशी विद्यार्थीले सातामा ४० घण्टा काम गर्न पाउँथे । तर, कोरोना महामारी अन्त्य नहुँदासम्मका लागि वृद्धवृद्धाको हेरचाह गर्ने कामको समय बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us