
काठमाण्डु, २७ चैत– कतारमा फिफा वल्र्डकप–२०२२ को तयारीका लागि कार्यरत नेपाली कामदार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा छन् ।
जर्मनीको एक टेलिभिजनले तयार पारेको रिपोर्टअनुसार नेपालीलाई अव्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिएको छ । बंगलादेश र अफ्रिकी मुलुकहरुबाट आएका कामदारसँगै नेपालीलाई जोखिमपूर्ण अवस्थामा राखिएको रिपोर्टमा उल्लेख छ ।
कतारले विश्वकपका लागि आवश्यक भौतिक संरचना निर्माणको काममा खटिएका कामदारलाई राजधानी दोहाभन्दा केही बाहिरको क्वारेन्टाइनमा राखेको छ । रिपोर्टमा कोरोना संक्रमित कामदारलाई समेत त्यही क्वारेन्टाइनमा राखिएको उल्लेख छ ।
यस्तै त्यहाँ खानेकुराको समेत अभाव भएको देखाइएको छ ।