काठमाण्डु, १९ चैत– लकडाउनको समयमा रातिराति उपत्यकाबाट हिंडेरै घर जाने क्रम बढेपछि सरकारले कडाई सुरु गरेको छ ।
जो जहाँ बसेको हो त्यहीं सुरक्षित रहन सरकारले गरेको आग्रह अवज्ञा गर्दै सयौंको संख्यामा मानिसहरु घर जान थालेपछि गृह मन्त्रालयले सर्कुलर जारी गरेर उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो ।
गृहको निर्देशनपछि प्रहरीले उपत्यका छाड्दै गरेका ६० जनालाई गएराति बल्खुबाट नियन्त्रणमा लिएर फर्काइदिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले त्यसरी हिंड्दा संक्रमण बढ्ने भएकाले पहिला बसिरहेकै स्थानमा बस्न सम्झाएर फिर्ता पठाइएको बताए ।