त्रिकोणात्मक सिरिजमा ओमनको लगातार चौँथो जित

काठमाण्डु टुडे २०७६ माघ २८ गते १७:५२ मा प्रकाशित

काठमाण्डु,२८माघ–आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमनले लगातार चौँथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा आज भएको खेलमा ओमनले अमेरिकालाई ९२ रनले पराजित गरेको हो।
ओमनले दिएको २७७ रनको लक्ष्य पछ्याएको अमेरिका ३९ दशमलव १ ओभरमा अलआउट हुँदै १८४ रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि निसर्ग पटेलले सर्वाधिक ५२ रन बनाए। त्यस्तै आरोन जोन्सले अभिजित ४७ रन, इयान हल्यान्डले २८ तथा जाभियर मार्सलले २३ रन जोडे।
अमेरिकालाई सस्तैमा समेट्न बिलाल खान र अकिब इल्यासले ३र३ तथा जीशन मक्सूदले २ तथा मोहम्मद नदीमले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७६ रन बनायो।

ओमनका लागि अकिब इल्यास र जीशन मक्सूदले सतक प्रहार गरे। जीशनले ४ छक्का र १० चौकाको मद्दतले १०९ रन बनाए भने अकिबले १ छक्का र ११ चौकाको मद्दतले १०५ रनको महत्वपूर्ण योगदान गरे।
अमेरिकाका लागि सौरभ नेत्रवल्कर र रस्टी थेरोनले समान ३ विकेट लिए।
जारी त्रिकोणात्मक सिरिजमा ओमनको यो चौँथो जित हो। यसअघि ओमनले नेपाललाई दुई पटक र अमेरिकालाई एक पटक हराइसकेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us