
काठमाण्डु , ५ कात्तिक – गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ।
‘ह्याप्पी तिहार, चिसो बियर’ नामक गित युट्युबबाट हटाए पछि उनलाई प्रहरीले छाडेको हो । तिहारको छेको पारेर सार्वजनिक गरीएको उक्क्त गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।
नीजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले बताए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो । सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।