गायक दुर्गेश थापा प्रहरीको घेरामा

काठमाण्डु टुडे २०७६ कार्तिक ४ गते १६:२८ मा प्रकाशित

काठमाण्डु , ४ कात्तिक – ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा प्रहरीको खोजी सूचीमा अहिले रहेका छन्। तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएपछि प्रहरीले उनको खोजी गरिरहेको छ।
तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ । तिहारको बेला बियर खाने प्रचार गरेका कारण उनी सामाजिक रुपमा आलोचित समेत बनेका छन् ।
कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेको छ । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।
तिहारको गीतमा दुर्गेशले गाएका छन् –
डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज १
प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार गायक दुर्गेश थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने छ ।
उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us