
काठमाण्डु,१५ असोज —चर्चित नेपाली अभिनेता शिव श्रेष्ठले काठमाण्डुको कोटेश्वरमा ट्राफिक सेवा दिएका छन् ।
दसैंमा काठमाण्डुमा जाम निकै बढेका कारण महानगरिय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संस्थासँग सहकार्य गरेर विभिन्न व्यक्तिबाट ट्राफिक सेवा सहयोग लिएको हो । कलाकारको सामाजिक उत्तरदायित्वअन्तर्गत उनी कोटेश्वरको अस्तव्यस्त ट्राफिक जामलाई मिलाउँदै ट्राफिक प्रहरीलाई सघाउन ट्राफिक सेवामा उत्रिएका हुन् ।
यी अभिनेताले सोमबार दिउँसोदेखि बेलुकासम्म कोटेश्वर चोकमा बसेर ट्राफिक प्रहरीसँग त्यहाँको ट्राफिक व्यवस्था मिलाउने काम गरे । सडकमा सवारी साधन दौडिरहेको बेला जबरजस्ती बाटो काट्न खोज्ने यात्रुलाई रोकेर शिव श्रेष्ठले रातो बत्ती बलेपछि मात्र बाटो काट्न लगाउँदा यात्रु पनि मख्ख देखिन्थे । पर्दामा देखिएका प्रिय अभिनेताले आफूहरूलाई ट्राफिक नियम सिकाउँदा खुसी लागेको भन्दै यात्रुले त्यहाँ ट्राफिक नियमको पालना गरे । दसैं सुरु भएको र काठमाण्डुको ट्राफिक चाप निकै बढेकाले विभिन्न कलाकारसँगै आफू पनि ट्राफिक समस्यालाई सघाउँदै सवारी आबगमनलाई सहज तुल्याउन ट्राफिक सेवामा उत्रिएको अभिनेता शिव श्रेष्ठले बताए ।
सोमबार दिउँसोदेखि बेलुकासम्म शिव श्रेष्ठसहित दुई दर्जन कलाकारले काठमाण्डुको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाए । शिव श्रेष्ठसहित केही कलाकार कोटेश्वरमा ट्राफिक व्यवस्था मिलाई रहँदा हास्य अभिनेता शिवहरि पौडेलसहित अन्य केही कलाकार नयाँ बानेश्वरमा ट्राफिक व्यवस्थालाई सहज तुल्याउँदै जाम कम गर्न व्यस्त देखिन्थे । शिवहरि पौडेल, शारदा गिरीलगायतका विभिन्न कलाकारले करिब ३ घण्टा बानेश्वरको ट्राफिक आवागमनमा सघाए ।
नेपाल चलचित्र कलाकार संघले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा संघका पदाधिकारीसहित विभिन्न कलाकारले ट्राफिक सेवा दिएको संघका उपाध्यक्ष मोहन निरौलाले राजधानीलाई बताए ।
कोटेश्वर र नयाँ बानेश्वरसँगै कलाकारले गौशाला क्षेत्रको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाए । कलाकार संघका पदाधिकारी र विभिन्न कलाकारले ट्राफिक सेवासम्बन्धी प्रशिक्षण लिएर ट्राफिक व्यवस्था सहजीकरणका लागि ट्राफिक सेवामा उत्रिएका हुन् ।कलाकारले गरेको ट्राफिक व्यवस्थापन कार्यको ट्राफिक प्रहरीदेखि सर्वसाधारणसम्मले प्रशंसा गरेको पनि उपाध्यक्ष निरौलाले बताए, ‘कलाकार संघले बाग्मती सरसफाइदेखि विभिन्न सामाजिक कार्य गर्दै छ ।