
एजेन्सी– मलेशियाकी महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दुस्ख व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालमा अपमान गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि ट्वीट गर्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दुस्खी भएको जनाएकी बीबीसीले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा अपमानजनक सन्देश राखेको गरेको आरोपमा शुक्रवार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो।
महारानीले बुधवार आफ्नो ट्विटर खाता बन्द गरेको चर्चा चलेको थियो । त्यसपछि हजारौँ मानिसले उनलाई आफ्नो खाता बन्द नगर्न र सन्देश लेखिरहन आग्रह गरेका थिए ।
मलेशियाकी महारानीलाई राजा परमिस्सुरी आगोङ भनिन्छ ।
अहिलेकी महारानीको पूरा नाम टुङ्कु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो। उनी वर्तमान महाराजाकी पत्नी हुन् । मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ। देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन् ।