
बैतडी,२९ भदौ–बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उनले बताए ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लागेमा त्यसको परीक्षणका लागि किटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए । जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको उनले बताए । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, शरीर कम्पन हुनेलगायतका लक्षणहरु देखापर्ने डा विष्टले जानकारी दिए ।
यस्तै डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरिका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाका सामाजिक शाखा प्रमुख चन्दले जानकारी दिए ।