एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् – नेता रावल

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १२:१० मा प्रकाशित

अत्तरिया,२७ भदौ –नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुङ्गो लागेको बताए ।
सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ, उनले भने, अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।
उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे ।
दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसँगै अधिकांश वडा कमिटी पनि टुङ्गो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी भएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us