अब कात्तिक मसान्तभित्र घर नबनाए, भूकम्पपीडितले अनुदान नपाउने

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १४:३७ मा प्रकाशित


काठमाण्डु,२६भदौ–अब भूकम्पपीडितले कात्तिक मसान्तभित्र घर नबनाए अनुदान नपाउने भएका छन।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने दोहो¥याए ।
तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिइसक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्दै उनले गाउँ–गाउँमा रहेका इञ्जिनीयरलाई गाउँ नछाड्न निर्देशन दिए । उनले भने– ‘विभिन्न परीक्षा र अन्य बहानामा कोही पनि इञ्जिनीयरले गाउँ नछाड्नुस्, काम गर्न मन नलागे बिदा लिनु्स्, तर गाउँ नछाड्नु्, गाउँ छाड्ने र प्रभावकारी रुपमा काम नगर्ने इञ्जिनीयरलाई अब बिदाइ गरिन्छ ।’
उनले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनीयरलाई हाजिर नगराउन आग्रह गरे । उनले स्थानीय जनप्रतिनिधि र इञ्जिनीयरले एकै पटक परिचालन हुँदै आ–आफ्नो क्षेत्रमा कहिलेसम्म पुनःनिर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us