रवि लामिछानेलाई पक्राउ गरेर थुन्न माग गर्दै फेरि उजुरी दर्ता

काठमाण्डु टुडे २०७६ भदौ २४ गते ७:१६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– माउण्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै अदालतमा उजुरी परेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै सोमबार निदेवन दर्ता गराएको हो ।

यसाघि सोही प्रकरणमा १० दिन हिरासतमा बसेका उनीहरुलाई चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने र कँडेललाई क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । कार्कीसँग भने धरौटी नलिई छाडिएको हो । निवेदनमा अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग गरिएको छ ।

निवेदनमा छाडेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेश बदर गरी पुर्पक्षका लागि थुनामा राख्न माग गरिएको छ । हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले निवेदनबारे मंगलबार (आज) प्रारम्भिक सुनावाई हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us