तालिबानः वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकालाई नै घाटा

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १३:५७ मा प्रकाशित

एजेन्सी , तालिवानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएको छ ।

अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्दै आएको तालिवानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ कि–वार्ता रद्द गर्दा अमेरिकालाई नै घाटा हो, उसले धेरै कुरा गुमाउन पर्ने छ ।अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेविडमा तालिबानका वरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति अशरफ गनीसँग भेटवार्ता हुनुथियो तर त्यसको एक दिन अघि ट्रम्पले ट्वीट गरेर बैठक रद्द गरे ।

ट्रम्पले तालिबान र अफगान सरकारसँग अलग अलग भेट हुने कार्यक्रम निश्चित थियो किनभने तालिबानले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्छ र उससँग प्रत्यक्ष कुराकानी अस्विकार गर्छ । यद्यपि, अफगानिस्तानको सरकारले अमेरिकाको यो निर्णयलाई स्वागत गर्दै यसलाई सही समयमा उठाइएको सही कदम बताएका छन् ।अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको ट्रम्पले जनाएका हुन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।

तालिबानसँगको वार्तामा अमेरिकाको तर्फबाट नेतृत्व गरेका अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले गएको सोमबार टेलिभिजन अन्तर्वार्ताको क्रममा सहमतिबारे बताएका थिए । सो सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी थियो, त्यसकै लागि आइतबार तालिबानका नेतासँग उनको भेट हुने तयारी थियो । तर सो भेटअघि नै ट्रम्पले सहमति रद्द गरेका हुन् ।

रद्द भइसकेको सहमति अनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजाने थियो । खलिलजादले सहमतिबारे टेलिभिजन अन्तर्वार्तामा जानकारी दिइरहेका बेला अफगानिस्तानमा ठूलो विष्फोट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us