
काठमाण्डू, २७ जेठ– आज (मंगलबार) काठमाण्डूको टोखामा लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।
घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पनि चोट लागेको बताइएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो ।
त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरु भारतीय नागरिक रहेको ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।