
ललितपुर, २३ भदौ – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।
२०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । २०४८ सालमा लोक सेवा आयोगको सदस्यमा नियुक्त भएका राई २०५१ सालपछि लगातार दुई कार्यकाल अध्यक्ष भए ।सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ ।
उनी संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मिएका हुन् । उनको श्रीमर्तीको निधन भइसकेको र दुई छोरी अमेरिकामा बस्दै आएका छन् ।