नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्छ : प्रचण्ड

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १२:२४ मा प्रकाशित

काठमाण्डु,२३भदौ–नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।

‘हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ’, उनले भने ।

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदको वास्तविक सपनामा पूरा हुने बताए । ‘कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us