पूर्वउपसचिवको घरमा गोली चलेपछि…

काठमाण्डु टुडे २०७६ साउन १४ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १४ साउन — पुर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकी स्थित घरमा सोमबार राती साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो । कम दुरीबाट आएको गोलीले शर्माको घरको तेस्रो तलाको झ्यालको सीसा छेडेको थियो ।

सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खबर पुगेको थियो।घटनामा कुनै क्षति भने भएन। घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले शर्माको घरमा इजाजतप्राप्त हतियार ‘टुटु’ राइफलबाट गोली चलेको बताए । यो नियतवश गोली हानेको नभएर अचानक हतियार पड्केर निम्तिएको घटना भएको प्रहरीको अनुमान छ।

‘गोली चलेको हो, नियतवश गोली चलाएको देखिँदैन, हामी अनुसन्धान गर्दैछौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले भने, ‘कसैले चलाउँदै गर्दा अचानक गोली चलेको हुन सक्छ।’उक्त हतियार चराचुरुंगीको सिकार खेल्न प्रयोग हुने हतियार हो। यस्तो हतियारको आवाज आउँदैन।

झ्यालको सिसा छेडेर गोली भित्र छिरेपछि शर्माको घरमा वातावरण तनावपूर्ण बनेको थियो। महाशाखाको टोलीले उक्त हतियार कहाँबाट चल्यो भन्नेबारे खोजी थालेको छ। घटनास्थल वरिपरिका घरमा प्रहरीले सोधपुछ गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us