
काठमाण्डु,१३साउन —सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताको तयारी गरिरहेका बेला पक्राउ परेका नेता कार्यकर्ताहरुको अभिलेख निकाल्न शुरु गरेको छ ।
प्रहरी प्रधानकार्यालयले दिएको जानकारी अनुसार सो समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि ६ सय ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिबन्ध अघि समूहका एक हजार ३०५ जना पक्राउ परेका र तीमध्ये एक हजार ३१३ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा चलाइएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार यो अवधिमा २५ वटा विष्फोटनका घटना भए पनि १ सय २४ बमलाई निष्कृय पार्न सुरक्षा संयन्त्र सफल भएको छ । ती विष्फोटका घटनामा ७ जनाको मृत्यु भएको र ती मध्ये एक जना सर्वसाधारण छन् भने ६ जना विप्लव समूहकै कार्यकर्ता भएको पनि प्रहरीले जानकारी दिएको छ ।
एक वर्षको अवधिमा देशभरका विभिन्न प्रहरी युनिटबाट ४३ हजार ४७ मुद्दा दर्ता भएकोमा ४० हजार ३ सय ७१ अभियुक्त पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । गृहमन्त्रालयले वार्ताको तयारी गरिरहेका बेला प्रहरीसँग भएको विवरण मन्त्रालय माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सो समूहसँग वार्ताको तयारीका लागि वार्ता समिति बनाउने र आवश्यक व्यवस्था गर्न अधिकार समेत दिइसकेको छ । गृहमन्त्रालयले वार्ताको आवश्यक तयारीसँगै भरपर्दो सम्पर्क व्यक्तिको खोजी समेत गरिरहेको छ ।