
एजेन्सि ,रुसको राजधानी मस्कोमा प्रहरीले एक हजार जनाभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ।
प्रदर्शनकारीहरू मस्कोको शासन व्यवस्थाप्रति असन्तुष्ट भएकाकारण गत शनिवार २० हजारभन्दा बढी रुसीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए भने हिजो कति जना प्रदर्शनमा सहभागी थिए भन्ने स्पष्ट भएको छैन तर प्रहरीले सात सय पत्रकारसहित ३५ सय भएको बताएको छ।
सुरक्षाकर्मीहरूले लाठी प्रयोग गर्दै नगरपालिकाको हलबाट प्रदर्शनकारीहरूलाई जबर्जस्ती हटाएको छ।प्रदर्शनकारीहरू स्थानीय निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई भाग लिन वञ्चित गर्ने निर्णयको विरोध गरिरहेका थिए। केही प्रदर्शनकारीहरूको रगत बगेको र कम्तीमा दुई प्रहरीहरूको आँखामा प्रदर्शनकारीले पोल्ने पदार्थ छर्केको बताइएको छ।
सेप्टेम्बर ८ मा हुने निर्वाचनमा भाग लिन वञ्चित गरिएका केही उम्मेदवारलाई पनि गिरफ्तार गरिएको छ।अधिकारीहरूले ३० जना उम्मेदवारहरूलाई आवश्यक हस्ताक्षर प्रस्तुत गर्न नसकेको भन्दै अयोग्य घोषित गरेका थिए। राष्ट्पति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्साइ नाभाल्नीलाई शनिवारको प्रदर्शन आयोजना गरेको आरोपमा ३० दिनको कारावास तोकिएको छ।
मस्कोका मेयर सेर्गेइ सोब्यानीनले प्रदर्शनलाई सुरक्षा चुनौती भन्दै सार्वजनिक सुव्यवस्था कायम राख्ने बताएका छन्।