
काठमाण्डु, ३ साउन- अवैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ ।
पर्यटक भिषामा आएर भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो ।
गत असार २९ को मन्त्रिपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक भएको हो । पाँचजनाले तिर्नुपर्ने २ लाख ५० हजार जरिवाना र भिसा शुल्क बापतको ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
पाँचै जनासँग नेपाल आएको आधिकारिक कागजपत्र र भिषा अवधि भएको प्रमाण नभएपछि निष्कासनको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘उनीहरुले तिर्नुपर्ने जरिवाना र ‘ओभरस्टे’ शुल्क मिनाहा गर्दै स्वदेश फर्काउने तयारी गरिएको हो’, उनले भने । यसैगरी मन्त्रिपरिषद्ले नेपाल र जर्मनीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशय पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ । नेपाल समाचारपत्रबाट