सञ्चार माध्यमलाई जनार्दनको प्रश्नः नेताले अनौपचारिक कुरा गर्न मिल्दैन ?

काठमाण्डु टुडे २०७६ साउन २ गते २२:०९ मा प्रकाशित

काठमाण्डु, २ साउन- सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले आफ्नो विषयमा गलत अफवाह फैलाएको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको राज्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार शर्माले असन्तुष्टि जनाएका हुन् । बुधबारको बैठकमा बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा सेवानिवृत्तको पेन्सन बढाउन नहुने बताएका थिए । त्यस क्रममा शर्माले पत्रकारलाई क्यामेरा बन्द गर्न आग्रह गरेका थिए । आफूले अनौपचारिक छलफल गर्न खोजेकाले आफ्नै साथीजस्तो ठानेर सञ्चार माध्यमलाई आग्रह गरेको भए पनि दबाब दिएको आशयका समाचार आएको भन्दै आपत्ति जनाए । उनले लोकतन्त्रमा राजनीतिक नेताले पनि अनौपचारिक कुराकानी गर्न पाउने तर्क गरे ।
‘यहाँ कति बोल्ने कति नबोल्ने भन्ने विचार गरेको हुँ। हिजो मैले साथी हो एकछिन अनौपचारिक कुरा गरौँ भनेर रिक्वेस्ट गरेको हुँ’, शर्माले भने, ‘अनौपचारिक कुरा पनि गर्न नपाइने ? लोकतन्त्र भनेको के अनौपचारिक कुरा गर्न नपाइने हो ? हाम्रो पनि त स्वतन्त्रताको कुरा हुन्छ नि ।’  उनले मिडियामा भएका कुरा बंग्याएर नभई पूरा लेख्न आग्रह गरे । ‘यहाँ एउटा विषय राख्यो, त्यसको एउटा अंश टिपेर हाल्ने मिडियाको व्यवसाय गर्नेप्रति म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ,  ‘हामीले तपाईंहरूलाई समाचारमा प्रतिबन्ध लगाएका छैनौं । कहिलेकाहीँ अनौपचारिक कुरा पनि गर्नुपर्छ नि’, उनले भने, ‘केही साथीले सकारात्मक पनि लिनुभयो, केहीले नकारात्मक रूपमा लिनुभयो । म साथीहरूलाई त्यसो नगर्न आग्रह गर्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us