
काठमाण्डु,२साउन–आर्थिक कारोबारलाई पारदर्शी र विश्वासिलो बनाई आर्थिक सुशासन कायम गर्ने उद्देश्यले बुधवारबाट लागु गरिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लाई लिएर सरकार र व्यवसायी बिच विवाद भएको छ ।
पर्याप्त तयारी विनै उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको भन्दै ढुवानी व्यवसायीले बुधवारबाटै देशभरि मालसामान ओसारपसार ठप्प पारेका छन्।हालको संरचना तथा सूचना प्रविधिको सीमित उपलब्धताका कारण नयाँ प्रणाली अन्तर्गत तत्काल ओसारपसार गर्ने अवस्था नभएकोले ढुवानी ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको तर्क छ।तर उक्त प्रणाली हेरिरहेको राजस्व अनुसन्धान विभागका एकजना वरिष्ठ अधिकारीले विरोध गर्नु व्यवसायीहरूको अज्ञानता भएको प्रतिक्रिया दिएका छन ।
सरकारले अघि बढाएको डिजिटल नेपालको अवधारणा अन्तर्गत विभिन्न क्षेत्रलाई समेट्दै लैजाने लक्ष्य अनुरूप भीसीटीएस लागु गरिएको अधिकारीहरू बताउँछन्।प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रणालीबाट देशभित्रको आर्थिक कारोबारलाई व्यवस्थित पार्ने र कारोबारको पूर्ण अभिलेख तयार हुने बताए ।
यसको शुरूवातसँगै राजस्व चुहावटसँग सम्बन्धित सूचना, उजुरीहरूको सत्यता परीक्षण गर्न, छानबिन एवम् अनुसन्धानलाई वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले गर्न सकिने सरकारको तर्क छ।