
काठमाण्डु,२ साउन– विश्वभरि ८० वटा शाखाहरू रहेको भारतीय रेस्टुराँ कम्पनी ‘सर्वणा’ भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ।
आफ्नै एक कर्मचारीकी श्रीमतीलाई मन पराएपछि उनलाई पाउन राजगोपालले ती कर्मचारीको हत्या गरेका थिए। सन् २००३ मा ती महिलालाई आर्थिक प्रलोभन देखाएको, उनको परिवारका सदस्यहरूलाई धम्काएको र भाइलाई आक्रमण गरेको प्रकरणमा उनी जोडिएका थिए । सन् २००४ मा एउटा स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको थियो तर चेन्नईस्थित उच्च अदालतले त्यसलाई बढाएर आजीवन जेल सजायका बनाएको थियो।
मार्चमा भारतको सर्वोच्च अदालतले चेन्नईको अदालतको फैसलालाई सदर गरेको थियो। जुलाई ९ मा उनले अदालतमा आत्मसमर्पण गरेका थिए। जेलमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको थियो।
उनकाे रेस्टुराँमा ब्रिक्री गरिने दक्षिण भारतीय परिकार डोसा लोकप्रिय बनेपछि उनलाई डोसा किङु उपनाम दिइएको थियो। सर्वणा भवनका शाखाहरू न्यूयोर्क, लन्डन र सिड्नीमा पनि छन्।