देशभर मनसुन कमजोर बन्दैः अवरुद्ध सडकहरु क्रमश संचालनमा

काठमाण्डु टुडे २०७६ साउन १ गते १५:३२ मा प्रकाशित


काठमाण्डु, १ साउन- लगातारको वर्षाका कारण आएको बाढी पहिरो र डुवानका कारण मुलुकले ठूलो क्षति बेहोरेपछि वर्षा गराउने प्रणाली कमजोर बन्दै गएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी दिन दिनसम्म लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । केही ठाउँमा एकैछिन् ठूलो पानी परेपछि लगातार पर्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ ।
लगातारको वर्षा र बाढीका कारण अबरुद्ध भएका अधिकांश सडक सञ्चालनमा आएका छन् । सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुंगा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटलगायतका जिल्लामा अबरुद्ध भएका अधिकांश सडक सञ्चालनमा आएका हुन् । पूर्व-पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी-जोमसोम सडकमा पनि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर, काठमाडौंबाट सिस्नेरी र फाखेल हुँदै हेटौँडा जाने सडक भने अझै सञ्चालनमा आएको छैन । अवरुद्ध बीपी राजमार्ग भने सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । बुटवल-पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us