
काठमाण्डु, १ साउन- नेपाल भ्रमणमा रहेको भेनेजुएलाको प्रतिनिधि मण्डललाई सत्तारुढ नेकपाका नेताहरुले ठूलै खातिरदारी गरे ।
सर्वसाधारण जसरी आएको भेनेजुएलाको अनौपचारिक भ्रमण टोलीलाई औपचारिक सरह नै नेकपा नेताले महत्व दिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल, नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतसँग टोलीले भेटघाट गरेको छ । मंगलबार भने भेनेजुएलाको टोलीले नेकपा युवा संगठनका नेताहरुलाई उल्लु बनाएको छ । टोलीलाई खुसी पार्न तत्कालीन वाइसीएल र अहिले एकीकृत युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दिपशीखा, सभामुख कृष्णबहादुर महरा पुत्र राहुलसहितको टोलीले ठमेलको एक रेष्टुरेण्टमा मिठो खानाको स्वाद चखाउने योजना बनायो ।
टोलीको सेड्युअलमा कार्यक्रम पनि पारियो । नेपाली र इण्डियन खाना पाउने थर्ड आई नामको ठमेलमा राम्रै चलेको रेष्टुरेण्टमा खानाको व्यवस्था मिलाइयो । धेरै परिकार बनाइएको थियो । भेनेजुएलालीलाई खाना खुवाउन बिहानैदेखि दिपशीखासहित केही पर्यटन व्यवसायीको दौडादौड चलेको थियो ठमेलतिर । तर, दिनभरि कुर्दा पनि खाना खानेहरु आइदिएनन् । पछि खबर आयो टोलीले आफू बसेकै होटलका कोठाकोठामा खाना मगाएर खाएछ । पाहुना नआएपछि स्वागतमा बसेकाहरु आफैंले परिकार खाएर त्यहाँबाट हिंडे । खाना बढी भएपछि सुरक्षामा खटिएका प्रहरीलाई बोलाएर सकाउने काम गरिएको युवा संगठनका एक नेताले जानकारी दिए । न्यायो सत्कार गर्न खोज्दा उल्टै अपमानित महसुस हुनु त छँदैछ, भीआईपी खानाको लाखौं रुपैयाँ पनि डुबेपछि दिपशीखा रिसाएर हिंडेको रेष्टुरेण्ट सञ्चालकले बताए ।
नेकपाको युवा संघको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको युवा संगठन जेपीयसयूभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार नेपाल आएको हो । टोलीमा त्यहाँका राष्ट्रपछि निकोलस मडुरो मोरोसका छोरा निकोलस अर्नेस्टो मडुरो गुयरासमेत छन् । राष्ट्रपति पुत्र गोयरा त्यहाँको विशेष सैनिक प्रमुखसमेत हुन् ।