दुई बस एकापसमा ठोक्किँदा ३४ घाइते

काठमाण्डु टुडे २०७६ असार २८ गते १२:११ मा प्रकाशित

सुर्खेत, २८ असार– सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका-२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।
शुक्रबार साँझ सुर्खेत-नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
नेपालगञ्ज जाँदै गरेको बसको स्ट्रिरिङमा च्यापिएका चालक नेपालगञ्ज उपमहानगरपालिका निवासी २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रवक्ता क्षेत्रीले बताए ।
उनका अनुसार गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्र्षीय स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा १ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।
बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us