२ सय ६ मिलिलिटरसम्म पानी प-यो, पानी परुञ्जेल जहाज चढ्नै नहुने

काठमाण्डु टुडे २०७६ असार २७ गते १८:५१ मा प्रकाशित

काठमाण्डु, २७ असार– मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम विश्लेषणसम्बन्धी विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो । शुक्रबार बिहानैदेखि मुलुकभर लगातार मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।

पूर्वी र मध्यमा एक÷दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ । यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।
देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ । त्यसैगरी भोलि शनिबार पनि देशको पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ । पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनन अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डुमा ५१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी सिमरामा २०६, विराटनगरमा १७२, ओखलढुङ्गामा १०७, धनकुटामा १०३ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा २७, भैरहवामा २४, नेपालगञ्जमा १२ र धनगढीमा १५ मिलिमिटर वर्षा भएको छ ।

नदी तटीय क्षेत्रमा उच्च खतरा

निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

बागमती नदीको तराई क्षेत्रमा बहाव खतरामाथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तह नजीक पुगेको छ । कोशी नदीमा बहाव सतर्कता तह नजीक पुगेको छ । प्रदेश नं १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा रहेको तथा भोलीसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us