
काठमाण्डु, २७ असार– यति एयरलाइन्सको जहाज अवतरणका क्रममा धावन मार्गमा चिप्लिएपछि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो समाचार तयार पार्दासम्म खुल्ने संकेत छैन ।
धावन मार्गमै जहाज पल्टिएपछि अवरुद्ध भएको विमानस्थल जहाज हटाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो । विमान स्थल अधिकारीहरुले दिनभर नै जहाज हटाउने प्रयास जारी रहेको दाबी गरे पनि साँझसम्म हटाउन सकिएको छैन । जहाज पल्टिएर धावनमार्गको दक्षिण दिशामा रहेको घाँसे मैदानमा छ । जहाज हटाउन बिहान ११ बजेदेखि नै विमानस्थल कर्मचारी र सुरक्षा निकाय सक्रिय छ । जहाज हटाउन खोज्दा झन् तलतल दबिँदै गएको एक अधिकारीले जानकारी दिए । बिहानदेखि साँझसम्म झण्डै एक दर्जन अन्तर्राष्ट्रिय उडान बंगलादेशको ढाका, भारतको नयाँदिल्ली र कोलत्ताका, चीनको सिचुआन, थाइल्याण्डको बैंककलगायत विमानस्थलमा डाइभर्ट गरिएका छन् ।