चेन्नाईमा पानीको हाहाकार, रेल र होटल बन्द

काठमाण्डु टुडे २०७६ असार ४ गते १०:५० मा प्रकाशित

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ ।

अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ ।

अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ ।

‘चेन्नाईलाई यो अवस्थाबाट अब वर्षाले मात्रै बचाउन सक्छ,’ एक अधिकारीले बीबीसीलाई बताए ।

सन् २०११ को जनगणना अनुसार भारतको छैटौँ ठूलो शहर चेन्नाईले पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव भोगिरहेको छ ।

पानी भण्डारण गरिएका मानव निर्मित जलाशय क्षेत्र सुक्न थालेपछि शहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ ।

पानी जोगाउनका लागि रेल स्टेशनहरूलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन् ।

प्रविधि क्षेत्रमा काम गर्नेहरूको संस्था आइटी वर्कर्स एसोसिएशनका महासचिव भिनोथ कालिगाइले केही संस्थाले कर्मचारीहरूलाई घरमै बस्न आग्रह गरेको पुष्टि गरे ।

‘तर घरमा पनि पानीको अभाव सुरु भएको छ । यस्तो अवस्थामा हामीले के गर्ने हो ?,’ उनले प्रश्न गरे ।

पानी अभावका कारण स्थानीयवासीबीच झगडा समेत भएका छन् । प्रहरीले गत हप्ता एक जनालाई पानी बाँडफाँटको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको छ ।

अधिकारीहरू हाल पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयासमा छन् । तर, सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह ठूलो चिन्ताको विषय बनेको छ ।

‘यो स्थितिलाई सहज बनाउने एउटै मात्र उपाय भनेको जमिनमुनि पानीको सतह बढाउने हो,’ एकसामाजिक अभियान्ता नाक्किरानले भने ।

‘हामीले यसअघि पनि सुक्खा वर्षहरू झेलेका थियौँ । तर त्यतिखेर हामीलाई जमिनमुनिको पानीले बचाएको थियो’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us