
काठमाण्डु, ४ असार – अज्ञात समूहले रोल्पा र सल्यानको वडा कार्यालयमा आगो लगाएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ मा आज विहान र सल्यानको छत्रेश्वर गाउँपालिका वडा नम्बर ३ मा मंगलबार विहान आगजनी भएको हो । भाडामा बस्दै आएको गंगादेव गाउँपालिका वडा नम्बर ५ को कार्यालयको भवनको ताला फोडेर सो समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्र र कार्यालयमा भौतिक सामग्री जलेर नष्ट भएको छ । उक्त समूहले कार्यालयमा रहेको नगद ८५ हजार पनि लगेर गएको छ । बुधवार विहान ३ बजेतिर वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको थियो ।
आगजनी कसले र किन गर्यो भन्ने एकिन हुन सकेको छैन । मंगलबार विहान मात्रै यसैगरी अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगो लगाएको थियो । छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयमा गरिएको आगजनीबाट कार्यालयका सबै कागज पत्र र सामान जलेर नष्ट भएका थिए ।
वडा कार्यालयमा आगो लगाएको जिम्मेवारी समेत कसैले लिएको छैन । यद्यपी प्रहरीले भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति शंका गरेको छ ।